विचार/अन्तरवार्ता
विकास निर्माणमा युवाको भुमिका महत्वपुर्ण हुन्छ : थापा
नेपालको इतिहासमा देशको सार्वभौम र राष्ट्रियता लाई अक्षुण राख्न उल्लेख्य योगदान गरेको सिन्धुली जिल्लाले विकासका पर्याप्त सम्भावनाहरु बोकेको छ । त्यसो त प्राकृतिक स्रोत सम्पदा र जैविक विविधताको हिसावले समेत धनी जिल्लाको रुपमा रहेको छ सिन्धुली । यस जिल्लामा स्थानीय सरकारका तर्फबाट जनतामा सेवा पुर्याउने उदेश्यले नया संरचना अनुरुप स्थानीय निकायका रुपमा २ नगरपालिका र सात गाउपालिका रहेका छन् । अव आउने वैशाख ३१ गते स्थानिय निकायको निर्वाचनको मिती तय भएको छ । यतिवेला सवै राजनितिक दल आ–आफ्नो एजेन्डा सहित घर दैलो अभियानमा व्यस्त देखिन्छन । सवै राजनितीक दलको तर्फवाट उमेद्वारी तय भैसकेको छ । अझ अर्काे चाखलाग्दो कुरा त यो पटक सवै राजनितिक दलको नगरपालिका, गाउपालिकाको प्रमुख र वडा अध्यक्षको टिकट प्राय युवाको हातमा परेको छ । यसले पनि अवको विकासकार्यमा युवाको सहभागिता उल्लेख्य हुने अनुमान गर्न सकिन्छ । धेरै समय पछि हुन लागेको स्थानिय निकायको निर्वाचनमा यस पटक नेपाली कांग्रेस सिन्धुलीले टिकट वितरणमा सवै तहमा युवालाई पहिलो प्राथमिकक्ता दिएको देखिन्छ । ३,७७१ मत रहेको कमलामाई नगरपालिका वडा नं ६ मा यो पटक नेपाली कांग्रेसले क्रियाशिल तथा युवाका पनि प्रतिनिधि पात्र उज्जवल थापा लाई टिकट दिएको छ । यतिवेला चोक, चियापसल, चौवाटो सवैतिर थापाको उमेद्वारीको चर्चा परिचर्चा व्यापक भएको देखिन्छ । उनको उमेद्वारी संगै आसन्न स्थानिय निकायको निर्वाचनको वारेमा गरिएको कुराकानिको केहि अंश याहा प्रस्तुत गरिएको छ ।
एकैचोटि वडा प्रमुखका लागि उम्मेदवारी दिने सोच कसरी आयो ?
प्रथमत लामो पर्खाइ पछि सरकारले स्थानीय तहको निर्वाचन २०७४ वैशाख ३१ गतेलाई तोकेको छ । वर्षौंदेखि स्थानीय स्तरबाट वनबास भएको राजनीतिक अधिकार फिर्ती हुने आशाले स्थानीय नेता र जनता उत्साहित बनेका छन् । संघीय संविधानले स्थानीय तहलाई शक्तिशाली बनाएकाले पनि आसन्न स्थानीय तहको चुनाव सवैतिर जनचासो र चर्चाको विषय बनेको छ । निर्वाचनको यस्तै विभिन्न चर्चा र परिचर्चाको बीचमा नेपालका सम्पूर्ण परिवर्तनमा अद्वितीय योगदान पु¥याएको युवा शक्तिलाई राजनीतिक दलहरूले कसरी समेट्लान् भन्ने प्रश्न पनि त्यत्तिकै संगिन छ । नेपालका युवा संख्यात्मक हिसाबमा मात्र ठूलो नभई शक्तिको हिसाबमा पनि निकै बलिया छन् । यसकारण स्थानीय तहको निर्वाचनमा युवाको बलियो सहभागिता आवश्यक मात्र नभई जरुरी पनि भएकाले मैले उमेद्वारी दिएको हु ।
तपाईले उमेद्वारी दिए संगै पार्टीले टिकट पनि देला भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्थ्यो ?
पहिलो कुरा त नेपाली कांग्रेस विचारको राजनिति गर्ने पार्टी हो । याहा सवै समुदायको भावना समेटिएको छ । नेपाली कांग्रेसले महिला, दलित, जनजाति, अल्पसंख्यक, सिमान्तकृत सवैको जनभावनालाई समेट्दै अगाडि वढ्छ । यतिखेर नेपाली जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नुपर्ने दायित्व हामी सबै सामु रहेको छ । यी उपलब्धिी संस्थागत गर्न सकियो भने मात्रै हामी आफ्नो क्षेत्रको समेत विकास गर्न सक्छौं । गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, बिभिन्न पिछडिएको वर्गको साथै जनताको हक अधिकारलाई संस्थागत गर्न र सोही अनुरुप स्थानीय जनताका अपेक्षा पुरा गर्न सक्ने नेतृत्व आवश्यक भएकोले मैले उम्मेदवारी दिए । अर्कोतर्फ आम नगरवासीले समेत नया सोच राख्ने, नगरको भलो सोच्ने, केही नयाँ र दीर्घकालिनरुपमा समृद्धीको बाटोमा लैजान खोज्ने नेतृत्वको चाहना राखेका कारण मैले उमेद्वारी दिए । यो सोच र योजना मेरो पार्टीमा कदर हुन्छ भन्ने मलाई विस्वास थियो ।
स्थानीय निर्वाचनमा युवाको भुमिका कस्तो हुनुपर्छ जस्तो लाग्छ ?
स्थानीय निर्वाचनमा युवाको सहभागिता मौसमी बहसमात्र नभएर हरेक कोणवाट अपरिहार्य बनेको छ । राजतन्त्रले सयौं वर्षदेखि गरेको राष्ट्रदोहन, दशक लामो सशस्त्र द्वन्द्व, अन्त्यहीन आन्दोलन, विनाशकारी भूकम्प र अघोषित नाकाबन्दीले थकित बनेका नेपालीका निम्ति स्थानीय निर्वाचन आशा र भरोसाको उत्सव बनाउन क्रियाशिल हुनुपर्छ । यसले समाजको इन्जिन र स्थायी शक्ति युवालाई संघीय संविधानको कार्यान्वयनको निम्ति सक्रिय बनाउन जरुरी छ । विकास र समृद्धि स्थानीय तहबाटै सुरु गर्नुपर्ने भएकाले लोकतन्त्र, जनता र विकासको मन्त्रलाई सुन्दर ढंगले जोड्न जरुरी देखिन्छ । प्रविधिको उच्चतम प्रयोग गर्दै भ्रष्टाचारलाई शून्यतामा झार्न र दौडिरहेको विश्वको प्रगतिलाई पक्रन स्थानिय निकायको निर्वाचनले महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ । पदभार भन्दा कार्यभार सम्हाल्ने राजनीतिक जिम्मेवारीको युग स्थानीय तहबाट सुरु गर्न सकिन्छ । फुटाएर राज गर्ने राजनीतिक संकार अन्त्य गर्दै जुटाएर सेवा गर्ने राजनीतिक सु–संस्कारको अभियान थाल्न युवाको भुमिका महत्वपुर्ण हुन्छ ।
वडावासीले तपाईलाई नै किन जिताउने ?
यो निर्वाचन भनेको विगतमा भएका गाविस, नगरपालिका र जिविसको जस्तो अधिकार विहिन जनप्रतिनिधिहरुको चुनाव नभई अनेकन अधिकारलाई व्यक्तिको घर दैलोमा ल्याउने प्रक्रिया हो । यो अधिकार तपाई हामीले नै चुनेको प्रतिनिधिहरुद्वारा तपाई हामीलाई नै उपलब्ध गराउने निर्वाचन भएको हुँदा सबै वडावासी आमा बुबा दिदी बहिनी तथा दाजुभाइहरुले असाध्यै गम्भिरतापूर्वक यसलाई लिनुहुनेछ भन्ने आशा लिएको छु । हिजोको जस्तो मलाई चुनावमा जिताउनुभयो भने म यसो गर्छु उसो गर्छु भन्ने जमाना अहिले छैन । अहिले हामी जस्तो युवा वर्गले आफ्ना योजना हरुलाई सहि मार्ग वाट जनता सम्म पु¥याउनु पर्छ । जनसंख्याको तीव्र वृद्धिसँगै उपयुक्त व्यवस्थापन र रोजगारमुलक शिक्षा दिई युवा वर्गलाई व्यवस्थापन गर्नु अत्यन्त आवश्यक देखिन्छ । युवा नै देश समाज र गाउँ विकासको मुख्य मेरुदण्ड भएकोले यस शक्तिलाई कसरी उपयोगमा ल्याउन सकिन्छ आजैबाट चिन्तन–मनन् गर्न जरुरी छ ।
राजनीतिमा खासै नदेखिएको अनुहार भनेर भन्छन् नि तपाईलाई ?
हो, म खासै राजनितीमा नभिजेको मान्छे । तर म राजनिती गर्नु भन्दा पहिला राजनितीलाई राम्रो संग वुझ्न जरुरी ठान्छु । अहिले धेरै मान्छे आफ्नो स्वार्थ पुरा गर्नको लागी राजनितिमा लागेको देखिन्छ । यसले क्षणिकका लागी त केहि फाईदा गर्ला तर दिर्घकालिन रुपमा राम्रो गर्दैन । विकास समृद्ध समाजका लागी राजनितिनै गर्नु पर्छ भन्ने हुदै हुदैन । सवै भन्दा पहिला स्पष्ट भिजन चाहिन्छ । म यो चै गर्छु भन्ने कार्ययोजना हुनु पर्छ । समाजमा विभिन्न उमेर, समूहका मानिसहरु हुन्छन् । प्रत्येकको इच्छा–आकांक्षा फरक भए पनि एक–अर्कामा निर्भर भएकै देखिन्छ । समाजमा वृद्धा, बालक र युवा वर्गको समिश्रण रहेको हुन्छ । त्यसैले विकासमा राजनितिमा देखिएकै अनुहार हुनुपर्छ भन्ने सोच्नु गलत लाग्छ मलाई ।
भोली चुनाव जित्दै गर्दा यो नगरपालिका अन्तर्गत वडा नं ६ को विकासका लागि तपाईको रोडम्याप के छ त ?
कमलामाई नगरपालिका एउटा विशिष्ट इतिहास बोकेको क्षेत्र हो । इतिहासका कैयन् कालखण्डमा यो क्षेत्रले स्वतन्त्रता र समृद्धिका पक्षमा ठूलो योगदान दिएको छ । यो भुगोल र यहाँका बासिन्दा जस्तोसुकै समस्यालाई समेत सामूहिक संघर्षबाट पार गरेर समृद्धितर्फ जानसक्छन् । त्यसैले भूगोलका आधारमा आर्थिक सम्भावना पहिल्याउने र सोही अनुरुप सामाजिक सेवाको विकास गर्नुपर्ने मेरो रोडम्याप हो । यसका लागि यो वडाको भूमिका महत्वपूर्ण छ । अव्यवस्थीत रुपमा निर्माण गरिएका वस्तिलाई व्यवस्थित वनाईने छ । वन जंगलबका बिचका ससाना वस्तीलाई समधर भूमिमा जहाँ पहिरो र डढेलोको जोखिम हुँदैन र विकास निर्माण गर्न सहज हुन्छ त्यस ठाउँको अध्ययन गरी उनीहरुको मन्जुरीमा बस्ती व्यवस्थापन गरिनेछ । जनताले पाउने सेवा सुविधालाई तिव्र गतिमा प्रवाह गरिनेछ । शैक्षिक संस्थाहरुको क्षमता वृद्धि गरी शिक्षाको गुणस्तरलाई विकास गरिनेछ । स्वस्थ जीवन यापन गर्न पाउनु सबै नगरवासीको अधिकार भएको हुँदा अस्पताल र स्वास्थ्य केन्द्रको क्षमता वृद्धि गरिनेछ । निशुल्क रुपमा स्वास्थ्य उपचारको व्यवस्था गरिनेछ । प्राविधिक शिक्षामा जोड दिइनेछ । ऐतिहासिक स्थलको पहिचान गरि धार्मिक स्थल शिद्धबाबा, कालीमाई, कमलामाई लगायतका स्थानहरुको उचित सम्बर्धन, संरक्षण र प्रचार प्रसार गरी पर्यटकहरु भित्राईनेछ । जेष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र बालबालिकाको लागि उचित वसोवास प्रवन्ध मिलाईनेछ । सवै वर्गको राय, सल्लाह र सुझावको आधारमा वडाको गुरुयोजना बनाई कार्यान्वयन गरिनेछ ।
अन्त्यमा केहि भन्नु छ .........?
कमलामाई नगरपालिका वडा नं ६ नेपाली काँग्रेसका लागि ऐतिहासिक र राजनीतिक थलो हो । यस नगरपालिकाका १४ वटै वडा काँग्रेस समर्थित अग्रज, समन्वयी तथा पछिल्लो पुस्ताका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुको सङ्गठन प्रतिको निरन्तर लगाव तथा खटाइका कारण यस नगरपालिकामा नेपाली काँग्रेसको स्थिति तुलनात्मक रुपमा राम्रो छ । नेपाली काँग्रेसले स्थापना कालदेखि अगाडि सार्दै आएको आदर्श, सिद्धान्त र विचार पनि एक प्रमुख आधार हो । इतिहासका संङ्गीन कालखण्डमा काँग्रेसले गरेको नेतृत्त्वकारी भूमिकाको मूल्याङ्कन पनि एक प्रमुख आधार हो । साथै अग्रजहरुको आशीर्वाद एवम् साथीहरुको सद्भाव र उत्साह मेरा लागि व्यक्तित्व उठाउने आधारहरु हुन् । पेशागत हिसावले सामाजिक विकासको क्षेत्रमा कार्य गरेका कारण विकासवादी साथीहरु, राजनीतिक अग्रजहरु, समन्वयी तथा अनुजपुस्ताका युवा साथीहरुका अलावा सैद्धान्तिक र वैचारिक धरातलमा उभिएका साथीहरु सबैले मेरो आकांक्षालाई उत्साहका साथ लिनु भएको छ । यो नै मेरो व्यक्तिगत आकांक्षाका लागि सबैभन्दा उत्प्रेरक र सबल पक्ष हो ।
नोट :- सञ्चारकर्मी पुस्कर सहयात्री संगको कुराकानिमा आधारित