पढ्नै पर्ने

अक्करे भिरमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध

सिन्धुली । बर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत अक्करेभिरमा सोमबार बिहान पहिरो खस्दा यातायात अबरुद्ध  बनेको छ ।
सिन्धुलीको गोलन्जोर गाँउपालिका–६ हैबारस्थित अक्करेभिरमा पहिरो सडकमा आई थुप्रिनाले मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी ६३ किलोमिटर खण्डमा यातायात अबरुद्ध भएको प्रहरीले जनाएको छ ।
लगातारको बर्षाका कारण सोमबार बिहान उक्त पहिरो सडकमा खसेको हो । त्यस क्षेत्रमा अहिले पनि ठूलो पानी परि रहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरी नायब उपरिक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो । पहिरोको कारण गन्तव्यमा हिडेका सबारी साधन सडकमा नै रोकिएर बसेको उहाँले बताउनुभयो ।
बीपी राजमार्ग भने सुचारु रहेको उहाँको भनाई छ । हैबार निवासी सुवास कोईरालाका अनुसार पहिरोका कारण यातायात ठप्प हुदा सिन्धुली जिल्लाको पूर्वी पहाडी क्षेत्रसहित पूर्वका खोटाङ, ओखलढुङगा, सोलुखुम्बु, भोजपुर जिल्लाका यात्रुले सास्ती व्यहोर्नु परेको छ ।
अहिलेपनि सयौ सबारी साधन बीच बाटोमा नै अलपत्र अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । मध्यपहाडी लोकमार्गकै हैबार नजिकै हर्दिनीमा पनि माथिबाट पहिरो आई यातायात ठप्प भएको उहाँको भनाई छ । 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने