राष्ट्रिय

मधुगङगा मन्दिरमा साउन महिनाभरि लाग्ने बोलबम् मेलामा भक्तजनको भिड बढ्दो

सिन्धुली । दुधौली नगरपालिका—२ हत्पते लङ्गुरखोलास्थित मधुगङ्गा महादेब मन्दिरमा बोलबम मेला लागेको छ ।
प्रत्येक वर्ष साउन महिनाभरी मेला लाग्ने उक्त मन्दिरमा यो बर्षपनि छिमेकी जिल्लाहरु सर्लाही, महोत्तरी, सिरहा, रौतहट, बारा, पर्साका अतिरिक्त भारतका सितामाढी, मधुबनी लगायतका सहरबाट पँहेलो गेरु रङ्गको बस्त्र लगाई आएका हजारौ श्रद्धालु भक्तजनहरुको उपस्थितीमा मेला लागेको हो ।
स्थानीय बासिन्दाका अनुसार उक्त मन्दिरमा साउन महिनाभरी बोलबम् मेला लाग्ने भएपनि सोमवारका दिन भक्तजनको उपस्थिति थामी नसक्नु हुने गरेको छ । शुद्ध मनले निराहार बसी उक्त महादेबको दर्शन गरेमा मनले चिताएको ईच्छा पुरा हुने विश्वासले भक्तजनको भिड लाग्ने गरेको हो ।
मन्दिरका पूजारी लोकबहादुर थापाले बिगत दुई बर्षमा कोरोनाका कारण उक्त मन्दिरमा बोलबम मेला नलागेको भएपनि यो बर्ष साउन लागेकै दिनदेखि उक्त मेला लाग्न सुरु गरेको बताउनुभयो । उहाँ भन्नुभयो, ‘सन्तान्, धन, शिक्षा प्राप्ती र कुनै रोग व्याध हटाउनका लागि भक्तजन महादेबको दर्शन गर्न आउने गरेका छन् । महादेबप्रतिको विश्वासले नै भक्तजनको भिड लाग्ने गरेको हो ।’ 
श्रद्धालु भक्तजनहरुकै सहयोगबाट हालसम्म मन्दिर परिसरमा सात वटा धर्मशाला निर्माण भई सकेको छ । स्थानीय बासिन्दाका अनुसार त्यसो त बिकट जङ्गलको अनकन्टार कुनामा रहेको उक्त महादेब मन्दिरमा जान तराईका जिल्लाबाट आएका बोलबम भक्तजनलाई गतबर्ष कमला नदीमा पक्कि पुल निर्माण सम्पन्न भएसँगै सजिलो भएको छ । 
पक्कि पुल निर्माण हुनुअघि तराईबाट आउने भक्तजनहरुले कमलामाई नगरपालिका–१४ चन्दनपुरमा पुगेपछि हेलिएर कमला नदी पार गर्नु पर्ने बाध्यता थियो । जस्का कारण बर्सेनि दुई÷चार जना भक्तजनको कमला नदीले बगाएर ज्यान जाने गरेको स्थानीयले जनाएका छन् ।  
यो बर्ष उक्त मेलालाई व्यवसिथत गर्न सडकको ठाँउ–ठाँउमा स्वास्थ्य शिविर, सुरक्षाकर्मी परिचालन, स्टललाई व्यवस्थित गर्ने, स्वयंसेवक परिचालन, सौर्यबत्ति जडान, पार्किङको व्यवस्था लगायतको तयारी गरिएको दुधौली नगरपालिका–२ का अध्यक्ष रितेस राउतले जानकारी दिनुभयो ।
मधुगंगा महादेव मन्दिरलाई प्रमुख धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न नगरपालिकाले बृहत गुरु योजना नै बनाई त्यसै अनुसार काम गर्न सुरु गरेको उहाँको भनाई छ । 
साउन महिनामा लाग्ने बोलबम् मेलाका कारण स्थानिय वासिन्दाको आय आर्जनमा समेत बृद्धि भएको पाईन्छ । भक्तजन हिड्ने बाटोको दाँयाबाँयामा राखिएका नाङ्ले किराना पसल मेलाका कारण निकै फस्टाएका स्थानीय बासिन्दा रेखराज दाहालले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने