राष्ट्रिय
जनता आवास कार्यक्रम अन्तर्गत यो बर्ष एक सय २२ घर निर्माण
सिन्धुली । दुधौली नगरपालिकामा यो बर्ष जनता आवास कार्यक्रम अन्तर्गत विपन्न परिवारका मुसहर समुदायको १२२ वटा घर निर्माण भएको छ ।
सङघिय सरकारको शशर्त अनुदानमा ती घर निर्माण भएपछि बर्षौदेखि झुपडीमा बस्दै आएका मुसहर समुदायका परिवार यतिखेर पक्कि घरमा रमाएका छन् । आफ्नो जीवनको ७० बर्षसम्म फुसले छाएको छाप्रो (झुपडी) बिताउदै आउनु भएका दुधौली नगरपालिका–११ निवासी ७२ बर्षिय काली सदामा यतिखेर खुसीको सिमा छैन । उहाँले भन्नुभयो, ‘जीवनको अन्तिम उमेरसम्म झुपडीमा बसियो । सधै घाम, पानी, चिसो र सर्पको त्रास हुन्थ्यो । अब कुनै पिरलो छैन ।’
उहाँका अनुसार सुरक्षित घरको अभावमा मुसहर समुदायमा जाडो मौसम सुरु भएपछि परिवारका सबै जना रातभरि आगो बालेर वरिपरी बसेर रात कटाउदै आएका थिए । बृद्ध सदाले भन्नुभयो, ‘झुपडीमा बस्दा हुरी बतास, आगलागी र सर्पको त्रास खेप्दै आएको थियौं । अब यो समस्याबाट मुक्ति पाएका छौं ।’
दुइ वटा ढोका, झ्याल उत्तिक्कै र जस्ताले छाएको पक्कि दुई कोठे घर भएपनि आफ्नो लागि महल नै भएको उहाँले सुनाउनुभयो । उहाँका तीन छोरीहरु त्यही छाप्रो घरबाट विहावारी भएर गए । श्रीमान शुक्र सदासँग अहिले उहाँको बा“की जीवन गुज्री रहेको छ ।
जनता आवास कार्यक्रम अन्तर्गत यो बर्ष दुर्धौली नगरपालिकाको वडा नं. ६ मा ३२ घर, वडा नं. ७ मा ३३ घर, वडा नं. ८ मा २७ घर र वडा नं. ११ मा ३० घर गरी मुसहर समुदायकको एकिकृत १२२ घर निर्माण भएको शहरी विकास तथा भवन डिभिजन कार्यालय सिन्धुलीले जनाएको छ ।
कार्यालयका अनुसार यो बर्ष ती घर निर्माण गर्न तीन करोड ६६ लाख ७७ हजार रुपिया खर्च भएको छ । जिल्लामा आर्थिक बर्ष ०७५÷०७६ देखि जनता आवास कार्यक्रम सुरु भएको र हालसम्म ४९२ घर निर्माण भईसकेको छ ।
कार्यालय प्रमुख दुर्गाप्रसाद घिमिरे जनता आवास कार्यक्रम अन्तर्गत प्राथमिकतामा परेका डुम, दलित, लोपोन्मुख, सिमान्तकृत र अति विपन्न वर्गका समुदायका छनौंट भएका र त्यस्ता लाभग्राहीको घर निर्माण गरी सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको बताउनुहुन्छ ।
उक्त कार्यक्रम अन्तर्गत आवास निर्माणका लागि दुधौली नगरपालिकाको वडा नं. ४, ५, ६, ७, ८, ९, १० र ११ मा गरी ५२५ र तीनपाटन गाँउपालिकामा ६३० जना लाभग्राही छनौट भएका छन् । तीनपाटन गाँउपालिकामा भने घर निर्माण गर्न बाँकी रहेको छ । दुधौली नगरपालिकामा अझै ३३ जना लाभग्राहीको आवास निर्माण गर्न बाँकी रहेको उहाँले सुनाउनुभयो ।
कार्यालय प्रमुख घिमिरेका अनुसार दुई कोठाको प्रत्येक घरमा दुइवटा ढोका र दुइवटा झ्याल रहेका छन् । उहाँले भन्नुभयो, ‘एउटा घर निर्माणका लागि सङघिय सरकारबाट तीन लाख ३६ हजार रुपिया आँउछ । त्यसले पुगेन भने सम्बन्धित लाभग्राहीले श्रमदान गर्नु पर्ने हुन्छ ।’
जनता आवास कार्यक्रम सङघिय सरकारले बागमती प्रदेश सरकारलाई हस्तान्तरण गरेकाले बागमती प्रदेश सरकारले उक्त कायक्रम दिएमात्र आगामी बर्ष सिन्धुली जिल्लामा उक्त कार्यक्रम सञ्चालन हुने कार्यालयले जनाएको छ ।