राष्ट्रिय
पहिरोले बीपी राजमार्ग र मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड अबरुद्ध, सयौ यात्रु राजमार्गमै अलपत्र
सिन्धुली । दुई दिनदेखिको लगातारको बर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग र मध्यपहाडी लोकमार्गको सिन्धुली जिल्ला खण्डमा बुधबार विहानैदेखि यातायात अबरुद्ध बनेको छ ।
बीपी राजमार्गको सोलाभन्ज्याङ नजिक र मध्यपहाडी लोकमार्गको गोलन्जोर गाउपालिका–६ स्थित अक्करे भिरमा पहिरो सडकमा आई थुप्रिदा यातायात अबरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बीपी राजमार्गको भिमान क्षेत्रमा पनि दुई ठाँउमा खहरेमा आएको बाढीले गेगर ल्याई थुपार्दा यातायात अबरुद्ध बनेको प्रहरी नायब उपरिक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो ।
अबिरल बर्षा भई रहेकोले सोलाभन्ज्याङ नजिकको र मध्यपहाडी लोकमार्गको अक्करे भिरको पहिरो पन्छाउन बाँकी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यि दुई ठाँउमा मङगलबार पनि पहिरो गएको थियो । पहिरो पन्छाएर यातायात खुलाएका थियौं ।’ पानी पर्न रोकिएपछि पहिरो सफा गरेर यातायात सञ्चालनमा ल्याउने उहाँको भनाइ छ ।
बीपी राजमार्गको दर्जनौँ स्थानमा पहिरो खस्ने सम्भावना भएकाले सजग भएर यात्रा गर्न उहाँले सुझाउनुभयो । खहरेहरु बढेरसमेत बीपी राजमार्गको दुम्जा, नेपालथोकलगायतका स्थानमा यातायात अवरुद्ध भएको छ । अक्करेभीरको पहिरो हटाउन एक्स्काभेटरसमेत जान सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।
पहिरो खसेपछि बीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग हुदै आफ्नो गन्तब्यमा हिडेका सयौयात्रु राजमार्गमै अलपत्र बनेका स्थानीयले बताएका छन् ।