राष्ट्रिय
सिन्धुलीमा एक बर्षमा सैतिस वटा साना सिंचाई योजना सम्पन्न
सिन्धुली । सिन्धुली जिल्लाका विभिन्न स्थानमा ३७ वटा साना सिंचाई योजना सम्पन्न भएका छन् ।
थोरै लगानीबाट सञ्चालित यी आयोजनाबाट धेरै क्षेत्रफल जमिनमा सिंचाई सुविधा उपलब्ध भएपछि किसानहरु उक्त योजनाप्रति आकर्षित बनेका कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार गत आर्थिक बर्ष ०७८÷०७९ को बार्षिक कार्यक्रम अन्तर्गत २८ लाख ८० हजार रुपैयाको लागतमा किसानको फर्म, सहकारी र समूहमार्फत ती योजना सम्पन्न भएका हुन् ।
सम्पन्न ती योजनाबाट तीन सय रोपनी खेती योग्य जमिनमा सिंचाई सुविधा पुगेको छ ज्ञान केन्द्रका प्रमुख सुजन अमगाईले जानकारी दिनुभयो । गत आवमा साना सिंचाई योजना माग गरी ४२ वटा प्रस्ताबना कार्यालयमा दर्ता भएकोमा आवश्यकता भएको ठाँउलाई छनौट गरी ३७ वटा योजना सम्पन्न गरिएको उहाँको भनाई छ ।
कमलामाई नगरपालिका, दुधौली नगरपालिका, गोलन्जोर, मरिण, हरिहरपुरगढी, सुनकोसी, फिक्कल र तीनपाटन गाँउपालिकामा साना सिंचाई योजना सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख अमगाईका अनुसार ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा ती साना सिंचाई योजना सम्पन्न गरिएको हो । साना सिंचाई योजना अन्तर्गत आवश्यक प्लाष्टिक पाईप खरिद, पोखरी निर्माण, मोटर खरिद तथा ईनार निर्माण लगायतका काम भएको कार्यालय प्रमुख अमगाईले जानकारी दिनुभयो ।
गोलन्जोर गाँउपालिका–५ स्थित निरज अर्गानिक तरकारी खेती र्फमका सञ्चालक किसान कपिल भुजेल साना सिंचाई कार्यक्रम अन्तर्गत आफुले पनि पाईप खरिद, ईन्टेक र पानी सङकलनका लागि पोखरी निर्माण गरेको बताउनु हुन्छ । त्यसोत उहाँले २१ रोपनी जमिनमा सिजन अनुसारको तरकारी खेती र जुनार खेती गर्दै आउनु भएको छ ।
कृषि ज्ञान केन्द्रले ९२ हजार सात सय रुपिया अनुदान दिएको र त्यसमा आफुले पनि एक लाख २८ हजार रुपिया थपेर पाईप खरिद, ईन्टेक र पानी सङकलनका लागि पोखरी निर्माण गरेको उहाँले सुनाउनुभयो । ‘हिउदको लागि सिंचाईको धेरै दुःख थियो,’ किसान भुजलले भन्नुभयो, ‘अब भने ढुक्क भएको छ । कुलोको पानी लाग्दैन थियो । पोखरीमा पानी सङकलन ग¥यो, बोटबिरुवामा लगायो ।’
सिजन अनुसार आफुले काउली, आलु, प्याज, काँक्रा, धनीया लगायतको तरकारी खेती गर्दै आएको र बार्षिक तीन लाख रुपिया भन्दा बढी आम्दानी लिदै आएको उहाँले बताउनुभयो । ठूला सिंचाई आयोजनाले समेट्न नसकेको स्थानमा बर्सेनि साना सिंचाई आयोजना निर्माण गरि जमिनलाई सिंचाई सुविधा उपलब्ध गराएको ज्ञान केन्द्रले जनाएको छ ।