सिन्धुली खबर
सिन्धुलीमा फेरी थपिए नौ जना कोरोनाका बिरामी
सिन्धुली । जिल्लामा आईतबार एकै पटक नौ जना कोरोना सङक्रमित बिरामी थपिएका छन् । सिन्धुली अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको परिवार र विदेशबाट आई क्वारेन्टिनमा बसेका सहित २८ जनाको स्वाब सङकलन गरि पिसिआर परिक्षण गर्न असोज ६ गते हेटौडा पठाईएको थियो । ती मध्ये नौ जनाको पोजेटिभ र बाँकीको निगेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । कार्यालय प्रमुख जितेन्द्र साहका अनुसार थपिएका सङक्रमित बिरामीमध्ये दुई जना महिला र सात जना पुरुष रहेका छन् । सङक्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यो सहित सिन्धुली जिल्लामा कोरोना सङक्रमित व्यक्तिको सङख्या ७६ पुगेको छ । जिल्लाबाट हेटौडा स्वाब पठाईएका ७५ जनाको अझै पिसिआर रिपोट आउन बाँकी रहेको पनि उहाँले बताउनुभयो । थपिएको नौ जना बिरामीहरु सबै कमलामाई नगरपालिका–६ का बासिन्दा हुन् । नौ जना बिरामीमध्ये छ जना सिन्धुली अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका परिवार र बाँकी तीन जना विदेशबाट आई क्वारेन्टिनमा बसेका व्यक्ति रहेको सिन्धुली अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले जानकारी दिनुभयो ।उहाँका अनुसार अहिले थपिएका नयाँ बिरामीलाई एपोलो अस्पतालमा ल्याई आईसोलेसनमा भर्ना गरी उपचार सुरु गरिएको छ । जिल्लामा अहिले सक्रिय सङक्रमित बिरामीको सङख्या १३ रहेको र सबैको एपोलो अस्पतालमा उपचार भई रहेको छ । सङक्रमित बाँकी व्यक्ति उपचारपछि निको भएर घर गई सकेको उहाँले बताउनुभयो । सिन्धुलीमा अहिले संस्थागत क्वारेन्टाइनमा ४१ जना र होम क्वारेन्टाइनमा ७३ जना रहेका छन् । अहिलेसम्म जिल्लामा एक हजार २३० जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।