अर्थ/वाणिज्य
सिन्धुलीको फिक्कलमा बन्यो पाँच सय मिटर लामो पदमार्ग
बाबुराम देवकोटा
सिन्धुली । सिन्धुलीको फिक्कल गाँउपालिका-३ चनौटेमा यो बर्ष पाँच सय मिटर लामो पदमार्ग निर्माण गरिएको छ ।
बागमती प्रदेश सरकार उद्योग, वन तथा पर्यटन मन्त्रालयको २८ लाख रुपिया लागतमा ढुंगाको सिंढी बनाएर उक्त पदमार्ग निर्माण गरिएको गाँउपालिकाले जनाएको छ ।
फिक्कल गाँउपालिकामा पर्यटन प्रबद्र्धनका लागि चनौटेदेखि फिक्कल भ्युटावरसम्म पद मार्ग बनाउन सुरु गरिएको गाँउपालिका उपाध्यक्ष पार्बती सुनुवारले जानकारी दिनुभयो । उहाँका अनुसार यो बर्ष ३० वटा सिंढी निर्माण गरिएको छ । उक्त पदमार्ग निर्माणका लागि बागमती प्रदेश सरकारले ४९ लाख रुपिया बजेट बिनियोजन गरेकोमा टेण्डर हुदा डोलेट कन्ट्रक्सनलाई ठेक्का परी २८ लाख रुपियामा सम्झौता भएको थियो ।
चनौटेदेखि भ्युटावर चुचुरोसम्म तीन किलोमिटर लामो पद मार्ग निर्माण गर्ने योजना रहेको छ । अहिलेसम्म तीन भागको एक भाग निर्माण भएको र अझै दुई भागभन्दा बढी पदमार्ग निर्माण गर्न बाँकी रहेको गाँउपालिका उपाध्यक्ष सुनुवारको भनाई छ ।
गत बर्ष पनि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सात सय मिटर लामो पदमार्ग निर्माण भएको थियो । उक्त पदमार्ग निर्माणलाई बर्सेनि निरन्तरता दिईने र आगामी बर्षका लागि पनि बजेट बिनियोजन गरिने गाँउपालिकाले जनाएको छ ।