अर्थ/वाणिज्य
सिन्धुलीको कमलामाईमा विभिन्न ठाँउमा पर्यटन पुर्वाधार निर्माण
सिन्धुली । डिभिजन वन कार्यालय सिन्धुलीको सहयोगमा कमलामाई नगरपालिकाका विभिन्न तीन ठाँउमा यो बर्ष पर्यटन पूर्वाधार निर्माण भएका छन् ।
बागमती प्रदेश सरकारको पर्यटन प्रबद्र्धन कार्यक्रम अन्तर्गती ती पुर्वाधार निर्माण भएको उक्त कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कमलामाई नगरपालिका ५ स्थित कमलामाई मन्दिरको उद्गमस्थलमा १२ लाख ३२ हजार ५४३ रुपियाको लागतमा पार्क निर्माण गरिएको छ ।
उक्त पार्क डिभिजन वन कार्यालयको १० लाख रुपिया र स्थानिय कमलामाई सामुदायिक वन उपभोक्ता समूहको दुई लाख ३२ हजार ५४३ रुपिया सहयोगमा निर्माण भएको डिभिजन वन प्रमुख थिरबहादुर कार्कीले सुनाउनुभयो ।
उक्त स्थानमा गत बर्ष उक्त कार्यक्रम अन्तर्गत नै तलाउ निर्माण गरिएको थियो ।
त्यस्तै कमलामाई नगरपालिका ४ स्थित रक्तमाला परिसरमा वन कार्यालयको २० लाख रुपियाको लागतमा तलाउ निर्माण गरिएको छ । त्यस्तै वडा नं. ५ सिलामेस्थित कमला जनज्याती मावि सिलामेमा १४ लाख रुपियाको लागतमा बाल उद्यान निर्माण भएको छ ।
डिभिजन वन कार्यालय सिन्धुलीको १० लाख रुपिया, दक्षिणकाली सामुदायिक वन उपभोक्ता समूहको एक लाख ५० हजार रुपिया र विद्यालयको दुई लाख ५० हजार रुपियाको सहयोगमा उक्त बाल उद्यान निर्माण गरिएको उक्त कार्यालयले जनाएको छ ।
बाल उद्यान अन्तर्गत दुई वटा पिङ, तीन वटा चिप्लेटी, दुई वटा ढिकीच्याउ निर्माण, उद्यान भित्र चाईनिज दुबो रोपिनुका साथै फुलको बगैंचा स्थापना गरेको विद्यालयका प्रधानाध्यापक कृष्णहरी घिमिरेले जानकारी दिनुभयो ।