अर्थ/वाणिज्य
लाङघाली जुनार उद्योगलाई जुस प्रशोधन तथा भण्डारण सामग्री हस्तान्तरण
सिन्धुली । गोलन्जोर गाँउपालिका-४ तीनकन्यास्थित लाङघाली जुनार उद्योग तमौरेलाई ‘जुनार जुस प्रशोधन तथा भण्डारण सामग्री’ शुक्रबार हस्तान्तरण गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले आयोजना गरेको जुनार जुस प्रशोधन तथा भण्डारण सामग्री हस्तान्तरण एवं अनुगमन कार्यक्रममा ती सामग्री उद्योगका सञ्चालकलाई हस्तान्तरण गरिएको हो । जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख शंकरराज बर्मा तिवारीले उद्योग सञ्चालक सन्तबहादुर सिंजाली मगरलाई ती सामग्री हस्तान्तरण गर्नु भएको हो ।
सो अबसरमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका प्रमुख देबराज अधिकारीले उक्त परियोजनाको चालु आर्थिक बर्ष ०७७/०७८ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत अनुदान ५ लाख रुपिया र उद्योगको ५ लाख रुपिया लगानी गरी १० लागमा जुनार जुस प्रशोधन तथा भण्डारण सामग्री खरिद गरी हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।
हस्तान्तरण गरिएका जुनार जुस प्रशोधन तथा भण्डारण सामग्रीहरुमा फोल्डिक्रेट, साधारण क्रेट, ग्यालिन, जुस भर्ने बोतल, बाटा, बाल्टिन, चपबोर्ड, चक्कु लगायतको रहेको उहाँले बताउनुभयो ।
त्यस्तै ५० प्रतिशत अनुदान अन्तर्गत उक्त उद्योगलाई पाँच लाख रुपिया अनुदान र उक्त उद्योगले त्यती नै रकम लगानी गरी प्रशोधन भवन समेत यो बर्ष निर्माण गरेको उहाँले सुनाउनुभयो । परियोजना प्रमुख अधिकारीले सिन्धुली जिल्लाम आर्थिक बर्ष ०७३/०७४ देखि नै उक्त परियोजना सञ्चालन हुदै आएको र जुनारलाई उद्योगसँग जोड्ने लक्ष्य रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘परियोजना किरा व्यवस्थापनमा लागि रहेको छ । जुनार क्षेत्र बिस्तारको काम पनि भई रहेको छ । यो बीचमा धेरै राम्रा काम भएपनि अझै पनि चुनौती छ ।’ जुनारको जुस भण्डारका लागि परियोजनाले उद्योगलाई उक्त सहयोग गरेको र उद्योग निरन्तर दिगो रुपमा सञ्चालन गर्नु हुने छ भन्ने अपेक्षा राखेको उहाँको भनाई थियो ।
त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख शंकरराज बर्मा तिवारीले सिन्धुली जिल्ला जुनारका लागि प्रख्यात रहेको सुनाउदै हस्तान्तरण गरिएका सामानले किसानलाई जुनार बिक्री गर्न सहयोग पुग्ने बताउनुभयो ।
उहाँले कुनै बेला जिल्लामा जुनार बिक्रि गर्न समस्या रहेको र किसानले जुनारको मूल्य नपाई रहेको पनि अहिले त्यस्तो समस्या नभएको धारणा राख्नु भयो । जुनार सुपर जोनले जुनार क्षेत्रमा राम्रो काम गरि रहेको बताउनुभयो ।
लाङघाली जुनार उद्योग तमौरेका सञ्चालक सन्तबहादुर सिंजाली मगरले जुनार फलाउन सफल भएपनि बिक्री गर्न कठिन दिन पनि आफुले भोगेको अनुभव सुनाउनुभयो । उहाँले जुनार बिक्रि गर्न नसकेपछि आफुले सात दिने तालिम लिएर २०६४ सालदेखि उक्त उद्योग दर्ता गरी सञ्चालन गरेको जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘जुनार सुपर जोन परियोजनाबाट यो सहित तीन पटक सेवा पाई सकेको छु । ऋणधन जे भएपनि घर खर्च चलाउन र केटाकेटी पढाउन जुनार खेतीबाट पुग्दै आएको छ ।’
आफुले १५ रोपनी जमिनमा जुनार खेती गर्दै आएको र सिजनमा १५ जनालेसम्म उद्योगमा रोजगार पाउदै आएको उहाँको भनाई थियो । उद्योग सञ्चालक सिंजाली मगरले ‘ए’ ग्रेडको जुनार बजारमा बिक्री गर्ने गरेको र ‘बी’ तथा ‘सि’ ग्रेडको जुनार पेलेर बिस हजार लिटरसम्म पल्प (फल निर्चोदा आउने रस) उत्पादन गरी प्रसोधन गरेर जुस निकाल्ने गरेको बताउनुभयो । सो अबसरमा जुनार सुपरजोन सञ्चालक समितिका संयोजक गोबिन्दबहादुर लुंगेली मगर लगायतको उपस्थिती रहेको थियो ।