स्वास्थ्य
सिन्धुलीका स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग
सिन्धुली । सिन्धुली जिल्लाको विभिन्न स्थानीय तहका स्वास्थ्य संस्थालाई कोरोना भाईरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य सामग्री सहयोग उपलब्ध भएको छ ।
कमलामाई नगरपालका, दुधौली नगरपालिका, मरिण गाँउपालिका र तीनपाटन गाँउपालिकाको स्वास्थ्य शाखालाई ती स्वास्थ्य सामग्री उपलब्ध गराईएको हो । उपलब्ध गराईएको स्वास्थ्य सामग्रीहरु आवश्यकता अनुसार पालिकामा रहेका स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराईने स्थानीय तहले जनाएका छन् । जिल्लामा रहेको हेण्ड्स नेपालले प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा विभिन्न किसिमका स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
मरिण गाँउपालका स्वास्थ्य शाखा संयोजक मधुसुदन लाखेले उक्त संस्थाले बुधबार छ लाख २६ हजार ५८७ मूल्य बराबरको विभिन्न ११ किसिमको स्वास्थ्य सामग्री सहयोग गरेको जानकारी दिनुभयो । उहाले अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिण्डर, एन्टीजेन किन, पल्स अक्सिमिटर, सर्जिकल मास्क, एन ९५ मास्क, सेनिटाईजर, फेसशिल्ड, पिपिई सेट लगायतको स्वास्थ्य सामग्री सहयोग उपलब्ध भएको सुनाउनुभयो ।
स्वास्थ्य शाखा संयोजक लाखेले भन्नुभयो, ‘उक्त संस्थाले हाल स्वास्थ्य शाखालाई ती सामग्री उपलब्ध गराएको छ । कोरोना भाईरस सङक्रमण तथा नियन्त्रणका लागि ती स्वास्थ्य सामग्री आवश्यकता अनुसार पालिकाभित्रका स्वास्थ्य संस्थालाई उपलब्ध गराईने छ ।’
त्यस्तै बिहिबार दुधौली नगरपालिकाको स्वास्थ्य शाखा र तीनपाटन गाँउपालकाको स्वास्थय शाखालाई पनि १२ लाख मूल्य भन्दा बढीको स्वास्थ्य सामग्री उपलब्ध गराईको छ । प्लान नेपालको कार्य क्षेत्र रहेको कमलामाई नगरपालका, दुधौली नगरपालका, मरिण गाँउपालिका र तीनपाटन गाँउपालिकामा रहेको स्वास्थ्य संस्थालाई सहयोग गर्न ती स्वास्थ्य सामग्री स्थानीय तहलाई हस्तान्तरण गरिएको हेण्ड्स नेपालका अध्यक्ष बासुदेव अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार चार वटै स्थानीय तहमा गरी ४६ लाख ६७ हजार ३४३ मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग उपलब्ध भएको छ । यसअघि कमलामाई नगरपालकाको हकमा भने जिल्ला कोभिड सङकट व्यवस्थापन केन्द्र र सिन्धुली अस्पताल कोभिड युनिटलाई २३ लाख रुपिया भन्दा बढीको स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराईएको छ ।
जिल्ला कोभिड सङकट व्यवस्थापन केन्द्रलाई चार लाख ९९ हजार ३५६ रुपिया र सिन्धुली अस्पताल कोभिड युनिटलाई १८ लाख ३४ हजार ८८९ रुपिया मूल्य बराबरको विभिन्न किसिमका स्वास्थ्य सामग्री उपलब्ध गराएको हेण्ड्स नेपालका कार्यक्रम संयोजक प्रमोद तिमल्सिनाले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले कोभिड १९ को सङक्रमणको लहर नियन्त्रण तथा रोकथाम गर्न उक्त संस्थाले यसअघि पनि सात लाख रुपिया बराबरको स्वास्थ्य सामग्री जिल्ला कोभिड १९ सङकट व्यवस्थापन केन्द्रलाई उपलब्ध गराई सकेको जानकारी दिनुभयो ।
उहाँले विभिन्न सामाजिक संस्थाले जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई सहयोग गरेको स्वास्थ्य सामग्री आवश्यकता अनुसार जिल्लाको विभिन्न स्वास्थ्य संस्थामा पठाईने जानकारी दिनुभयो ।
दास्रो लहरको कोरोना सङक्रमणबाट सिन्धुली जिल्लामा हालसम्म ३८ जनाको ज्यान गई सकेको र हालसम्म दुई हजार ३३० जना व्यक्ति सङक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।