Slider

सिन्धुलीमा साना किसान लक्षित जीविकोपार्जन सुधार कार्यक्रम प्रभावकारी

सिन्धुली । गोलन्जोर गाँउपालिका–५ निवासी दिपेश थापाले यो बर्षदेखि तीन वटा प्लाष्टिकको घर निर्माण गरी टनेलभित्र सिर्जना जातको टमाटर खेती सुरु गर्नु भएको छ । 
कृषि ज्ञान केन्द्र सिन्धुलीको साना किसान लक्षित जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा ती प्लाष्टिकको घर (टनेल)  निर्माण गरी टमाटर खेती सुरु गरेको उहाँले जानकारी दिनुभयो ।
आफुले पनि भर्खरै कृषि सम्बन्धि (आई.एसी. एजी.)नै पढेकाले घरमा बसेर टमाटर खेती गरेको उहाँको भनाई छ । ‘टमाटरले फल दिन लागेको छ, भर्खर गेडा लाग्दै छ,’ उहाँले भन्नुभयो, ‘प्लाष्टिकको घर निर्माणका लागि ज्ञान केन्द्रले ३८ हजार रुपिया अनुदान दिएको र त्यसमा आफुले पनि थपेर करिब ९० हजार रुपिया खर्चगरी टनेल निर्माण गरेको हो ।’
उक्त कार्यक्रम विपन्न किसानका लागि जीविकोपार्जनमा सुधार ल्याउन प्रभावकारी देखिएको उहाँको भनाई छ । त्यस्तै कमलामाई नगरपालिका–८ निवासी किसान प्रेमबहादुर श्रेष्ठले जीविको पार्जनका लागि यो बर्षदेखि व्यवसायिक रुपमा सुर्खानी खेती सुरु गर्नु भएको छ ।
कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा एउटा प्लाष्टिकको घर (टनेल) निर्माण गरी उक्त घरभित्र खुर्सानीको बिरुवा भर्खर लगाएको उहाँले सुनाउनुभयो । बजारमा खुर्सानीको माग धेरै रहेको र आम्दानी पनि राम्रै हुने देखेर व्यवसायिक रुपमा नै खुर्सानी खेती सुरु गरेको उहाँले बताउनुभयो ।
त्यसो त कृषि ज्ञान केन्द्रको उक्त अनुदानमा आफुसहित हात्तिसार आईपिएम किसान समूहका पाँच जना किसानले टनेल निर्माण, एक जनाले सिंचाईका लागि पाईप खरिद र एक जनाले मोटर खरिद गरेको किसान श्रेष्ठले जानकारी दिनुभयो । 
उहाँका अनुसार कृषि ज्ञान केन्द्रले ८८ हजार रुपिया समूहलाई अनुदान दिएको र त्यसमा सात जना किसानले एक लाख रुपिया लगानी गरी उक्त कार्य गरेका हुन् । टनेलभित्र तरकारी खेती गर्दा रोगकिरा पनि कम लाग्ने र असिनापानीबाट पनि जोगिने भएकाले उक्त कार्यक्रम प्रति समूहका अरु किसान पनि आकर्षित बनेका छन् ।
गत आर्थिक बर्ष ०७८÷०७९ मा सिन्धुली जिल्लामा सञ्चालित साना किसान लक्षित जीविकोपार्जन सुधार कार्यक्रमबाट करिब दुई सय किसान लाभान्वित भएको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ । ज्ञान केन्द्रका सूचना अधिकारी श्रीकृष्ण अधिकारीका अनुसार जिल्लाका विभिन्न पालिकामा गरी १६ वटा साना किसान लक्षित जीविकोपार्जन सुधार कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रम अन्तर्गत किसानलाई १२ लाख ७६ हजार रुपिया किसानलाई अनुदान बितरण गरिएको उहाँले बताउनुभयो । 
उक्त कार्यक्रम अन्तर्गत किसान समूह तथा सहकारीका सदस्यलाई तरकारी खेती गर्न प्लाष्टिकको टनेल निर्माण, सिंचाईका लागि मोटरपाईप खरिद, हिउदे सिंचाईका लागि पोखरी निर्माण र उत्पादन सामग्री खरिद लगायतका गतिविधि भएको उहाँले जानकारी दिनुभयो ।


 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने